Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : यति गर्न त हामी पनि पक्कै सक्छौं !

Sunday, 14 April 2013

यति गर्न त हामी पनि पक्कै सक्छौं !


माथि तस्विरमा देख्नु भएको विभिन्न रंगका थोप्लाहरु कुनै चाडपर्व विशेषका लागि भुईँमा लगाइएको हैन । यो तस्विर मैले नर्बेको एउटा अस्पतालको भुईँमा लिएको हुँ । यी रंगका थोप्लाहरु सजावटका लागि बनाइएका हैनन् । सामान्य यी थोप्लाहरुमा कुनै अमुर्त आकृति वा कला पनि छैन । तर जब यी थोप्लाको वास्तविकता बुझ्नुहुन्छ, तपाईलाई पनि लाग्ला, कति अर्थपुर्ण थोप्लाहरु । यति गर्न त हामी पनि पक्कै सक्छौं !

यहाँ नर्बेमा क्षयरोग (टिबी)को जाँच गराउँनु अनिवार्य छ । हुन त २००२ को तथ्याकं अनुसार १ लाखजना मध्ये ५ दशमलब ७ जना व्यक्तिलाई क्षयरोगको लक्षण देखिएको छ रे नर्बेमा । तर शताब्दी अगाडी यहाँ क्षयरोगका कारण गाउँका गाउँ सखाप भएको थियो रे । यसैले अहिले विदेशीहरु खासगरि लामो समय बस्ने विदेशी विद्यार्थीहरुलाई क्षयरोगको जाँच अनिवार्य गराउँने गर्छ । यसका लागि बिद्यार्थीले कुनै पनि शुल्क तिर्नु पर्दैन ।
म पनि आफ्नो क्षयरोगको जाँच गराउँने पालोमा पत्र बोकेर तोकिएको अस्पतालमा पुगेँ । मेरो नाम दर्ता गरियो । र, मलाई नाम दर्ता गर्ने कर्मचारीले ति रंगीविरङ्गी थोप्लाको बारेमा बताए । वास्तवमा ति भुईँमा पोतिएका रङ्गीबिरङ्गी थोप्लाहरु बाटो देखाउँने थोप्लाहरु रहेछन् । मलाई क्षयरोगको जाँच गराउँनका लागि हरियो थोप्ला पछ्याउँदै जान भनियो । हरियो थोप्लाले डोर्र्याउँदै मलाई क्षयरोग परिक्षण हुने कोठामा पुर्र्याए ।
कुरा सामान्य हो, म भुईँमा पोतिएका हरिया थोप्ला पछ्याउँदै पुग्नु पर्ने कोठामा पुगेँ । तर एकपटक हाम्रो देशका अस्पतालहरुलाई सम्झनुहोस् त । कति गार्र्हो हुन्छ कुनै निश्चित विभाग वा कोठा पुग्न । अरु ठाउँमा त मान्न सकिएला तर अस्पताल जस्तो ठाउँमा नयाँ बिरामीहरुले अस्वस्थताको अवस्थामा आफुलाई सम्हालेर खोज्दै डाक्टरको कोठासम्म पुग्नु कति असजिलो अवस्था हुन्छ । ‘फलानो कोठा वा विभाग पुग्ने बाटो यता हो’ भनेर बकाइदा लेख्ने हो भने पनि नेपालमा साक्षरताको स्थिती अझै त्यतिमाथि छैन कि अस्पताल पुग्ने सबैले पढ्न सकुन् । हाम्रो नेपालमा यो तरिका एकदमै प्रभावकारी हुनेछ । यो महगों पनि त छैन । एउटा रंगको एक बट्टा इनामेलले पक्कै पनि निश्चित कोठासम्म लैजान्छ । यति गर्न त हामी पनि पक्कै सक्छौं ।
अहिले मेरो आशा यति छ, यो सानो तर अर्थपुर्ण कामको बारेमा सम्बन्धित व्यक्ति वा निकायसम्म पुगोस् । हाम्रा अस्पतालका भुईँहरुमा पनि बनुन् यस्तै रङ्गीबिरङ्गी थोप्लाहरु । र, रंगहरु पछ्याउँदै निसन्देह चाहेको कोठा वा विभागमा पुग्न सकियोस् ।

No comments :

Get Widget