१६ बैशाख, काठमाडौं ।  फिस्टुला विशेष गरी महिलालाई लाग्ने रोग हो । यो रोग लागेका बिरामीहरु पिसाब नरोकिने र निरन्तर चुहिरहने समस्याबाट ग्रसित हुन्छन् । जानकारहरुका अनुसार नेपालमा करिब २० लाख महिला फिस्टुलाबाट पीडित छन् ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार विश्वमा हरेक बर्ष ५० हजारदेखि १ लाख महिलामा फिस्टुला भइरहेको छ भने हाल विश्वमा २० लाख महिला फिस्टुला पीडित छन् । नेपालमा प्रतिबर्ष ५ सय देखि १ हजार नयाँ फिस्टुला पीडित थपिने गरेको तर त्यसमध्ये ५० देखि १ सय जनाले मात्र उपचार पाउने गरेको तथ्याङ्क छ ।
 पछिल्लो २ वर्षमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मात्रै १ सय महिलाको फिस्टुलासम्बन्धी निशुल्क अप्रेसन गरेको छ । नेपालमा पाटन अस्पताल र धरानको र वीपी प्रतिष्ठानमा फिस्टुलाको अन्तरराष्ट्रिय मान्यताप्राप्त उपचार हुादै आएको रेग्मी बताउनुहुन्छ । कतिपय महिलाले फिस्टुलाको उपचार हुने स्थान थाहा नपाएर र कतिपयले लाजले स्वास्थ्यकर्मीसम्म नपुग्ने भएकाले सचेतना तथा उपचारका लागि प्रोत्साहन गर्न यस्तो अभियान थालिएको प्रतिष्ठानका फिस्टुला विशेषज्ञ एवं विभागका एसोसिएट प्रोफेशर मोहनचन्द्र रेग्मी बताउनुहुन्छ ।
के हो फिस्टुला ?
बच्चा जन्मने बेलामा लामो समय व्यथा लाग्यो वा तोकिएको मितिभन्दा ढीलो बच्चा जन्मियो भने या अप्रेसन गरेर बच्चा निकाल्दा बच्चाको अंगले आमाको पिसाब नलीमा प्वाल पारिदिने अवस्थामा फिस्टुला हुने डाक्टरको कथन छ । यसरी पिसाव नलीमा प्वाल परेको अवस्थामा त्यसपछि निरन्तर पिसाब बग्ने डा. रेग्मी बताउनुहुन्छ ।
विशेषज्ञका अनुसार कम उमेरमा विवाह गर्नु र बच्चा जन्माउनु, गर्भवती अवस्थामा पौष्टिक तत्वको कमी हुनु, नियमित स्वास्थ्य परीक्षण नहुनु, व्यथा लागेको लामो समयसम्म अस्पताल नपुग्नु, बच्चाहरुको जन्मान्तर कम हुनु फिस्टुलाका मुख्य कारण हुन् । विश्वमा अफ्रिकाका गरीब मुलुकहरुमा फिस्टुला गम्भीर समस्याका रुपमा रहेको र नेपालमा पनि फिस्टुला ठूलो समस्याका रुपमा लुकेर रहेको छ ।
फिस्टुलाको उपचार जटिल अप्रेसनबाट हुने भएकाले डाक्टरहरुको जनशक्ति समेत कम रहेको छ भने यसको उपचार पनि सर्वसुलभ छैन । डाक्टरहरुका अनुसार फिस्टुलाको अप्रेसन गर्न कम्तिमा ५० हजार नेपाली रुपैयाँ लाग्छ भने २१ दिन अस्पताल बस्नु पर्छ । नेपाल सरकारले फिस्टुलालाई प्राथमिकतामा राखेको छैन ।
फिस्टुला मुक्त बनाउने अभियान
महिलाहरुलाई फिस्टुलाबाट मुक्त गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्वास्थ्य अभियान थाल्ने भएको छ । फिस्टुलाको उपचारमा सक्रिय डा. रेग्मीको नेतृत्वमा प्रतिष्ठानको स्त्री तथा प्रसुति रोग विभागले ‘फिस्टुला फ्री नेपाल’ अभियान सुरु गर्ने भएको हो ।
अभियानअन्तरगत यही महिना पााचथर र इलामका ग्रामीण क्षेत्रमा पुगेर फिस्टुलाको लक्षण, उपचारलगायतका विषयमा स्थानीयलाई जानकारी गराउने र स्थानीय स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिइने तथा फिस्टुलासम्बन्धी अनुसन्धान गर्ने कार्यक्रम रहेको उनले बताए । त्यसपछि अन्य जिल्लामा पनि कार्यक्रमलाई निरन्तरता दिइने योजना रहेको बताइएको छ । डा. रेग्मीको आग्रह छ- अभियानका लागि धेरै सहयोगको खाँचो छ, सबैको साथ सहयोग पाए गरिब महिलाले पिसाबमा डुब्नु पर्दैन र अकालमा ज्यान गुमाउनु पर्दैन ।’
धरानबाट गोपाल दाहालको सहयोगमा
 
 

 
 
No comments :
Post a Comment