पूर्ण बस्नेत, बेइजिङ, चैत ५ – चीन भ्रमणको क्रममा बेइजिङमा रहेका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आज ४ बजे चीनका नयाँ राष्ट्रपति सी जिनपिङलाई भेट्दै छन्। दाहालको भ्रमण तालिकामा ग्रेट हलमा राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सीसँग भेटवार्ताका लागि ४० मिनेट समय छुट्याइएको छ।
चीनको नेतृत्व परिवर्तनपछि नेपाल-चीनबीच हुन लागेको यो पहिलो शीर्ष भेटवार्ता हो।
राष्ट्रपतिसँगको औपचारिक भेटवार्ताको तयारी स्वरुप बुधबार उपराष्ट्रपति ली युनचाओ र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख वाङ जइरुले दाहालसँग लामो छलफल गरिसकेका छन्।
राष्ट्रपतिसँगको औपचारिक भेटवार्ताको तयारी स्वरुप बुधबार उपराष्ट्रपति ली युनचाओ र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख वाङ जइरुले दाहालसँग लामो छलफल गरिसकेका छन्।
राष्ट्रपतिसँगको औपचारिक भेटवार्तामा अध्यक्ष दाहालसँग भ्रमण दलका सदस्य र चीनका राजदूत महेश मास्के तथा अर्का एक अधिकारी रहने छन्। बिहान चिनियाँ कम्युनिष्ट पार्टीको आयोजनामा भएको सेमिनारको अतिथि बनेका दाहालले बेलुका नेपाली दूताबासले आयोजना गर्ने छलफललाई सम्बोधन गर्ने कार्यक्रम छ।
दाहाललाई राखिएको बेइजिङस्थित स्टेट गेस्ट हाउसमा बुधबार साँझ भएको भेटवार्तामा उपराष्ट्रपति ली युनचाओले नेपालको एक चीन नीतिको प्रशंसा गर्दै काठमाडौँमा फ्रि तिब्बत गतिविधि नहोस् भन्ने बेइजिङले चाहेको बताएका थिए।चीनको नयाँ नेतृत्वले तिब्बतलाई राष्ट्रिय सुरक्षाको प्राथमिकतामा राखेको बेला दाहालसँग भेट्ने पहिलो उच्च अधिकारीले नै बेइजिङको तिब्बत चासो राखेका हुन्।
‘एक चीन नीतिप्रति तपाईंहरूको प्रतिवद्धताको प्रशंसा गर्छौँ, नेपालमा फ्रि तिब्बत गतिविधि नहोस् भन्ने हामी चाहन्छौँ’,उपराष्ट्रपति लीको भनाई उद्धृत गर्दै भेटघाटमा सहभागी एक अधिकारीले भने।
अध्यक्ष दाहालका स्वकीय सचिव चुडामणी खड्काका अनुसार उपराष्ट्रपतिसँग करिब डेढ घण्टा भएको डिनर बैठकमा ४५ मिनेट एजेण्डा केन्द्रित छलफल भएको थियो। दाहालले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेपछि नेपाल-चीन सम्बन्ध सुदृढीकरण, नयाँ संविधानसभा चुनाव र राजनीतिक स्थिरता, आर्थिक सहयोग र विकासमा साझेदारी, तिब्बतको सुरक्षा चासो तथा पार्टी निर्माणको अनुभवबारे समेत छलफल भएको खड्काले बताए। भेटवार्ताका अर्का एक सहभागीका अनुसार ‘चिनियाँ कम्युनिष्ट पार्टीले एकीकृत माओवादीसँग मिलेर काम गर्न तथा दुई देशबीच वृहत साझेदारी विकास गर्न तयार रहेको’ बताएका थिए।
चिनियाँ कम्युनिष्ट पार्टीको संगठन विभाग प्रमुख रहिसकेका ली २५ सदस्यीय पोलिटब्यूरो तथा सचिवालय सदस्य हुन्। राष्ट्रिय जनकँग्रेसको बैठकबाट अघिल्लो महिना राष्ट्रपति सी जिनपिङले अन्तर्राष्ट्रिय सम्बन्ध हेर्न लीलाई उपराष्ट्रपतिमा चयन गरेको टिप्पणी भएको थियो। चीनमा राजनीतिक तथा आर्थिक सुधार पक्षधर ली राष्ट्रपति सीका निकट सहयोगी मानिन्छन्।
वहालवाला विदेशी राष्ट्र र सरकार प्रमुखहरूलाई राखिने बेइजिङस्थित डिओयुटाइ स्टेट गेस्ट हाउसमा राखेर दाहाललाई चीनले उच्च सम्मान दिएको छ। बेइजिङस्थित नेपाल-चीन सम्बन्धका एक विज्ञका अनुसार चिनियाँ नेताहरूको राज्य तथा कुटनीतिक गतिविधि सञ्चालनको एउटा प्रमुख केन्द्र बनेको स्टेट गेष्ट हाउसका दाहाल संभवतः पहिलो नेपाली पाहुना हुन्। २००८ मा प्रधानमन्त्रीका रुपमा चीन आउँदा समेत उनलाई त्यहाँ राखिएको थिएन। दाहाललाई लिन पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री आइ पिङको नेतृत्वमा पाँच सदस्यीय टोली चेङदु पुगेको थियो। अध्यक्ष दाहाललाई दिइएको सम्मानबाट चीनको नयाँ नेतृत्वले नेपालसँगको सम्बन्धलाई प्राथमिकता राखेको संकेत मिल्छ।
बुधबार बिहान माओ मेमोरियल हलको अवलोकनपछि दाहाल चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग पुगेका थिए। सचिव खड्काका अनुसार दाहाल र अन्तर्राष्ट्रिय विभागका मन्त्री वाङ जइरुबीच दुई कम्युनिष्ट पार्टीबीचको सम्बन्ध सहित सबै एजेण्डामा करिब दुई घण्टा छलफल भएको थियो। जइरुसँग दाहालले एक्लै वार्ता गरेका थिए। २००३ देखि निरन्तर अन्तर्राष्ट्रिय विभागको नेतृत्व गरिरहेका वाङ पार्टीको केन्द्रिय समिति सदस्य तथा सरकारको सल्लाहकार परिषद् चाइनिज पीपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसि) को उपाध्यक्ष पनि हुन्।
दिउँसो अन्तर्राष्ट्रिय विभागले नै आयोजना गरेको ‘आर्थिक योजना तथा कृषि विकासमा चीनको अभ्यास र अनुभव’ शीर्षकको सेमिनारमा दाहाल सहभागी भए। दुई घण्टाको सेमिनारमा खुलापन र सुधारको नीति लिएपछि चीनले गरेको आर्थिक विकासबारे विज्ञहरूले प्रस्तुती दिएका थिए। कार्यक्रममा सहभागी राजदूत महेश मास्केका अनुसार नेपालको आर्थिक विकासमा चीनको अभ्यास र अनुभवको सान्दर्भिकताबारे त्यहाँ अन्तर्त्रि्कया भएको थियो।
साता लामो चीन भ्रमणको क्रममा मंगलबार बेइजिङ आइपुगेका दाहालले त्यो दिन साँझ चिनियाँ कम्युनिष्ट पार्टीको प्रकाशन पीपुल्स डेलीको कार्यालय अवलोकन गरी सम्पादकीय विभागका अधिकारीहरूसँग छलफल गरेका थिए।
 
 
 
 
No comments :
Post a Comment