Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : समाचार

Tuesday, 26 March 2013

समाचार


पहाडी जिल्लामा आज होली मनाइँदै


काठमाडौ, चैत्र १३ - रङैरङको पर्व होली मंगलबार मनाइँदै छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ वसन्तपुरमा ठड्याइएको तीन छत्रे चीर तानेर टुँडिखेलमा पुर्‍याई बुधबार बिहान ५.२३ को साइतमा दाह गरेपछि साताव्यापी पर्व समाप्त हुन्छ । तराई भेकतिर भने पूणिर्माको भोलिपल्टमात्र खेल्ने चलन छ । चीर ढाल्ने र दाह गर्नुपर्ने फाल्गुण शुक्ल पूणिर्मा मंगलबार हो तर त्यस रात भद्रा परेकाले भद्रामा चीर दाह गर्न नहुने भएकाले बुधबार बिहान साइत निस्केको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सहायक सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए । उनका अनुसार सूर्योदय नभएसम्म बुधबारको दिन भइसके पनि अघिल्लोकै दिन मंगलबारकै गणना गर्नुपर्ने ज्योतिषशास्त्रको नियम भएकाले चीर दाह गर्ने साइत बुधबार बिहान परेको उनले बताए ।
रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्ड्याइएको उक्त चीर फागुन ७ गते बिहान ७.४७ को शुभसाइतमा ठड्याइएको थियो । धार्मिक ग्रन्थअनुसार दानवी राजा हिरण्यकश्यपूले भगवान् विष्णुका भक्त आफ्नै छोरा प्रह्लादलाई बहिनी होलिकाको काखमा बसाली आगो लगाई मार्न गरेको प्रयास असफल भएको दिनमा यो पर्व मनाउने गरेको उल्लेख छ । ग्रन्थअनुसार आगोले नछुने वरदान पाएकी होलिकाले प्रह्लादलाई मार्न आफ्नो काखमा राखी आगोमा होमिएकी थिइन् तर प्रह्लाद विष्णु भक्त भएकाले आगोले छोएन, उल्टो होलिका भष्म भएकी थिइन् । होलिका रूपी पापवृत्ति जलेर भष्म भएको स्मरणमा  प्रत्येक वर्ष फागुन पूणिर्मामा होलिका रूपी चीरलाई दाह गरेको जनविश्वास छ । नेपालमा प्राचीनकालमा होली फागुपूणिर्मा मात्र नभई अरू बखतमा पनि खेल्ने गरेको पाइएको छ । ईस्वीको चौधौं शताब्दीमा राजा जयस्थिति मल्लको पालामा लेखिएको गोपालराज वंशावलीमा देशमा ठूलो अशान्ति भएको कारणले पूणिर्माको दिन होली उत्सव मनाएपछि देशमा शान्ति स्थापना भएको उल्लेख छ ।
फागुपूणिर्माको रातमा टुँडिखेलमा किलागलका ज्यापूहरूले एक मुरी चामलको भात र एउटा सिंगै राँगाको पकाएका मासु लगेर गुरुंमापालाई भात खुवाउने चलन छ । 'भाष्कर संस्कारित केशवचन्द्रकृत पारावत महाविहार' संस्कृतमा नाम रहेको राजधानीको ऐतिहासिक बौद्ध बिहार इटुँबहालको 'भुतु क्यब (चुलो बारी) मा पकाइएको भात खर्पनको एकापट्टि१५ पाथी र अर्कापट्टि स-साना दुई पेटारो गरी ५ पाथी भात राखी एकजना बलियो मानिसले बोकी नायखीं बाजा बजाउँदै टुँडिखेल पुर्‍याउँछन् । त्यसरी बोकेर ल्याएको भातलाई एकपल्ट नयाँसडकढोकासँगै रहेको महादेवस्थानमा बिसाई त्यहाँ अवस्थित लुकुमाद्यः (लुकेको महादेव) लाई एक सानो पेटारोको भात चढाइसकेपछि बाँकी दुई पेटारो टुँडिखेलमा पुर्‍याइन्छ । अर्को सानो पेटारोको गुरुंमापाको नाममा अलग पन्छाई इटुँबहालदेखि सँगै गएका सबै मानिसलाई लहरै बसाएर प्रसादका रूपमा खुवाउने चलन छ । त्यसै रात ठमेलस्थित थँबही -विक्रमशील महाविहार) मा रहेको चकँद्यो -चक्रमणशील) को मूर्तिलाई त्यसै महाविहारसँगै रहेको टुँ चुकमा नौ पटक ओहोरदोहोर  गराउने परम्परा छ । यसरी ओहोरदोहोर गर्ने परम्परालाई स्थानीयवासीहरूले 'गुह्रु न्यायेकेगु' भन्ने गर्छन् । यसअघि उक्त मूर्तिलाई त्यसै चोकमा रहेको पाटीमा पूजा गर्नका लागि दिनभरि राख्छन् । सिंहसार्थ वाह भनिने त्यस मानवाकृति रातो मूर्तिलाई बुधबार बाजागाजाका साथ जात्रा गर्दै नगरपरिक्रमा गर्ने परम्परा छ । यस पर्वभरि भाङको घोट्टा पिउने  तथा टप्पा, ख्याली र वसन्त राग गाउने गरिन्छ ।


No comments :

Get Widget