रत्ननगर (चितवन), २३ जेठ । नक्कली नोट बनाएर सर्वसाधारणलाई ठग्दै आएका दुई जनालाई चितवन प्रहरीले विभिन्न सामग्रीसहित पक्राउ गरेको छ ।
ओखलढुङ्गा जिल्लाको तारकेराबारी गाविस वडा नं. ६ बस्ने वर्ष ५० को होमबहादुर पौडेल र धादिङ जिल्ला बैरेनी गाविस– ६ बस्ने वर्ष ४२ को रमन केसीलाई पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ । बुधबार पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धानपछि प्रहरीले आज एक विज्ञप्ति जारी गरी घटना सार्वजनिक गरेको हो ।
नारायणगढको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक मदनजीत महराको नेतृत्वमा खटिएको प्रहरीको संयुक्त टोलीले नारायणगढ लायन्सचोकमा रहेको होटल सिटी भ्युमा जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । कोठा नं ३०२ मा रेशमबहादुर भण्डारी नाम लेखाई बसेका पौडेल र बैरेनीका केसीलाई पक्राउ गरिएको हो ।
अनुसन्धानमा उनीहरुले डलर तथा भारतीय नोटको साइजमा कागजकाटी नोटको जस्तै बण्डल बनाई बाहिरबाट प्लास्टिकले बेरी सिधासाधा मानिसलाई ठगी गर्ने गरेको खुलेको प्रहरीले जानकारी दिएको छ ।सो क्रममा प्रहरीले उनीहरुबाट नोटको साइजमा काटेको कागज १ बण्डल, विभिन्न किसिमको केमिकल चार बोतल, विभिन्न व्यक्तिको पासपोर्ट साइजको फोटो नौ थान, विभिन्न व्यक्तिको नागरिकताको फोटोकपी २२ थान, सिमसहितको मोबाइल चार थान, एनसेल कम्पनीको मोबाइल सिमकार्ड पाँच थान, ५०० ग्राम ग्रिज बरामद गरेको जनाएको छ । रासस

No comments :
Post a Comment