
बागलुङ, १३ जेठ । व्यावसायिक कृषि खेतीमा लागेका यहाँका दुई युवाले विषादीरहित तरकारी बिक्री केन्द्र खोलेका छन् । विदेशको राम्रो कमाइ छोडेर स्वदेशमै कृषम उद्यममा लागेका ती युवाले बागलुङ बजारमा केन्द्र खोली तरकारीको बिक्री सुरु गरेका हुन् ।
आठ महिनाअघि रु २० लाख लगानीमा पर्वतको पाङमा कालीगण्डकी प्राङ्गारिक कृषि तथा पशुपालन फार्म स्थापना गरेका बागलुङ बोहोरागाउँका सिकिन्दर शाही र पर्वतका रवीन्द्र सुवेदीले विषादीरहित तरकारी बिक्री केन्द्र खोलेका हुन् । केन्द्रको उद्घाटन सोमबार बागलुङका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले गर्नुभयो ।
जिल्लामै पहिलोचोटि सञ्चालनमा ल्याइएको उक्त बिक्री केन्द्रमा कृत्रिम विषादी प्रयोग नगरी उत्पादन गरिएका तरकारी तथा फलफूल बिक्रीका लागि राखिएको सञ्चालक सिकिन्दर शाहीले बताउनुभयो ।
“बढ्दो रूपमा विषादीयुक्त तरकारीजन्य उत्पादन भइरहको बेला हामीले जैविक मल र घरेलु विषादी मात्र प्रयोग गरिएका तरकारी उपभोक्तामाझ पु¥याउन बिक्री केन्द्र खालेका हौँ”, शाहीले भन्नुभयो । उत्पादक कृषक र उपभोक्ताको हितका लागि आफूहरूले काम गर्ने शाहीले जानकारी दिनुभयो ।
सुरुका दिनमा आफ्नै फार्ममा उत्पादित कृषिउपज बिक्रीका लागि राखिएपनि विस्तारै सबै कृषकको उत्पादनलाई बिक्री केन्द्रमा राख्ने उहाँहरूको योजना छ ।
बिचौलियाबाट कृषक तथा उपभोक्ता ठगिएको बेला त्यसलाई अन्त गर्न केन्द्रले प्रभावकारी काम थाल्ने शाहीले बताउनुभयो । शाही र सुवेदीले करिब रु ७२ लाख लगानीमा पर्वतको पाङ सह्रर्षधारामा कृषि तथा पशुपालन फार्म सञ्चालन गर्नुभएको छ ।
हाल कृषिफार्मका लागि रु २० लाख जति लगानी गरेको बताउँदै सञ्चालक सुवेदीले आगामी दुईवर्षभित्र व्यावसायिक गाईपालन, बाख्रापालन र माछापालन सुरु गर्ने जानकारी दिनुभयो ।
सहज र सुलभरूपमा उपभोक्तालाई तरकारी उपलब्ध गराउन केन्द्रले कार्ड प्रणाली लागू गरेको छ ।
केन्द्रले व्यक्तिगत उपभोक्ता कार्ड, व्यापारिक कार्ड र संस्थागत उपभोक्ता कार्डको व्यवस्था गरेको छ । कृषि विकास कार्यालयको सहयोगमा बागलुङमा स्थापना भएको केन्द्र जिल्लामै पहिलो तरकारी बिक्री केन्द्र हो ।
यसपछि केन्द्रलाई छिमेकी पर्वत जिल्लाको सदरमुकाम कुश्मा र म्याग्दीको बेनीबजारमा पनि स्थापना गरिने सुवेदीले जानकारी दिनुभयो । रासस
 
 
 
 
No comments :
Post a Comment