पोखरा, जेष्ठ ४ - कांग्रेस सभापति सुशील कोइरालाले चार दलीय सिण्डिकेट तोड्नुपर्ने बताएका छन् । उनले देशलाई संविधानसभाको चुनावले मात्र निकास दिन सक्ने भएकोले चार दलीय सिण्डिकेट तोडेर सबै दललाई सहभागी गराएर चुनाव सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
'मोहन वैद्यजी, उपेन्द्र यादव लगायत सबै ३३ दललाई सहमतिमा ल्याएर चुनाव गरिनुपर्छ,' पोखरामा शनिबार दयाशंकर स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले भने, 'मैले वार्ता गरिरहेको छु, मोहन बैद्यले चुनावको खिलापमा नभएको बताउनु भएको छ । मलाई विश्वास छ, उहाँहरु पनि सहमतिमा आउनुहुन्छ ।'
उनले चार दलबीच ६०१ सिटलाई घटाएर २ सय ४० मा झार्ने, समावेशी र प्रत्यक्ष निर्वाचन गर्ने, 'थ्रेस होल्ड' १ प्रतिशत राख्ने सहमति भएको जानकारी दिए । उनले चुनाव विरोधी सबै तत्व जनविरोधी भएकोले परास्त हुने चेतावनी दिए । 'चुनाव हुन्छ-हुन्छ, जनताको विरुद्व जान्छ भने समाप्त हुन्छ,' उनले भने, 'तपाईंहरु ढुक्क हुनुहोस कार्त्तिक नभए मंसिरसम्म चुनाव हुन्छ ।'
उनले देश चुनावमय भएकोले कार्यकर्ताहरुलाई गाउँ- गाउँ वडा-वडामा गएर चुनावी माहौल बनाउन आग्रह गरे । उनले अहिले चुनावी माहौल बिगार्ने गरी कुनैपनि राजनीतिक नियुक्ति गर्न नहुने र गरिएका निर्णयहरु पनि खारेज गरिनुपर्नेमा जोड दिए ।
पराजुलीलाई पुरस्कार
प्रजातन्त्र सेनानी स्व.दयाशङ्कर पालिखेको स्मृतिमा उनको परिवारले स्थापना गरेको दयाशंकर स्मृति पत्रकारिता पुरस्कार-२०६९ सभापति कोइरालाले सुनौलो पव्लिकेशन प्रालि पोखराका अध्यक्ष गंगाधर पराजुलीलाई प्रदान गरे । पुरस्कारको राशी ३३ हजार तीन सय ३३, सम्मान पत्र र दोसल्ला रहेको छ ।
पोखरामा रहेर दुई दशकभन्दा बढी समयसम्म निरन्तर पत्रकारितामा रहेका पराजुली नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष समेत हुन् ।
सामुदायिक रेडियो सुनौलो एफ. एम. १०२.२ मेघाहर्जका कार्यकारी निर्देशक समेत रहेका पराजुलीले विभिन्न सञ्चारगृहमा काम गरिसकेका छन् ।  प्रजातन्त्रका सेनानी पालिखेको स्मृतिमा स्थापित पुरस्कार कम्तीमा १५ वर्ष पत्रकारिता गरेको  पत्रकारलाई दिने प्रावधान रहेको महासंघ कास्कीले जनाएको छ ।  
 
 
 
 
No comments :
Post a Comment