Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : पूर्वलडाकुसँग टेलिस्कोपयुक्त राइफल

Thursday, 18 April 2013

पूर्वलडाकुसँग टेलिस्कोपयुक्त राइफल

पूर्वलडाकुसँग टेलिस्कोपयुक्त राइफल 
नागरिक 

केपी ढुंगाना, काठमाडौं, वैशाख ५ - माओवादी पूर्वलडाकु र उनका तीन सहयोगी शंकास्पद आधुनिक हतियारसहित पक्राउ परेका छन्। काठमाडौं प्रहरीले जर्मनीमा बनेको सेमी अटोमेटिक (अर्धस्वचालित) राइफल र सिक्सर रिभल्बरसहित यमबहादुर थापालाई पक्रेको हो। थापासँग रहेको हतियार, सोको अनुमतिपत्र र हतियार बोकेर हिँड्न प्रशासनले दिएको छुट देखेर प्रहरी नै चकित छ। एकीकृत माओवादीले भने थापा अहिले पार्टीको सम्पर्कमै नरहेको जनाएको छ।
महानगरीय प्रहरी अपराध महाशाखा र बालाजु वृत्तका प्रहरीले नयाँ बसपार्क मित्रनगरस्थित थापाको डेरा छापा मार्दा २२ क्यालिबरको राइफल, ५३ राउन्ड गोली, २० र १५ राउन्ड गोली लोड हुने म्यागजिन फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख रणबहादुर चन्दले जानकारी दिए।
प्रहरीले पक्रेपछि थापाले सो हतियार अनुमति लिएर राखेको दाबी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाएको अनुमतिपत्र देखाएका थिए। राइफल टेलिस्कोपजडित थियो। एक सय ५० मिटर निशाना लगाउन सक्ने क्षमताको उक्त राइफलको अन्तर्राष्ट्रिय बजारमूल्य सात सय युरो (८० हजार रुपैयाँ) पर्ने एसएसपी चन्दले दाबी गरे।
प्रहरीले थापाकी पत्नी अलिसा गुरुङलाई पनि उनकै कोठाबाट जर्मनीमा बनेको सिक्सर पेस्तोलसहित पक्रेको छ। गुरुङको कोठामा भेटिएको ६ राउन्ड गोली लाग्ने सिक्सर भने अवैध हो।
प्रहरी स्रोतअनुसार थापासँगै रुद्र दाहाल र पंकज मल्लसमेत पक्राउ परेका छन्। प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन।
स्रोतका अनुसार यी दुवैमाथि सार्वजनिक अपराध अभियोग लगाइएको छ। परिसर प्रमुख चन्दका अनुसार मित्रनगरमा बस्ने एक समूहले हतियार देखाएर धम्क्याउने गरेको सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो।
निगरानीका क्रममा समूहको पहिचान भएपछि प्रहरीले मंगलबार छापा मारेर हतियार नियन्त्रणमा लिएको जनाएको छ। लाइसेन्ससहितको हतियार भए पनि त्यसको दुरुपयोग भएको सूचना प्रहरीसँग रहेको चन्दले बताए। 'अनुमतिप्राप्त हतियारसमेत शंकास्पद रहेकाले अनुसन्धान थालेका छौं,' उनले भने।
प्रहरी अधिकारीका अनुसार थापा जबर्जस्ती असुली र ठेक्कापट्टा कब्जामा सक्रिय भएको सूचना प्रहरीले पाएको थियो। राज्यले उनलाई हतियार राख्न दिएको अनुमतिपत्र देखेर प्रहरी आफैं चकित छ।
'जिल्ला प्रशासन कार्यालयको सिफारिसअनुसार प्रहरी स्वीकृतिपछि जिल्ला सुरक्षा समितिले हतियार राख्न दिने निर्णय नगरेसम्म कसैले हतियारको लाइसेन्स लिन सक्दैन,' एसएसपी चन्दले भने, 'थापाले लाइसेन्स लिन यी सबै प्रक्रिया पूरा गरेको हुनुपर्छ।'
थापाबाट बरामद भएको अनुमतिपत्रअनुसार जिएसटी-फाइभडी क्यालिभर २२ एलआरएचभी मोडलको सो राइफल २२ बोरको हो। हातहतियार तथा खरखजाना ऐनअनुसार जिल्ला प्रशासन कार्यालयको पूर्वअनुमति लिएर नेपालमा २२ र १२ बोर क्षमताको बन्दुक राख्न पाइन्छ।
हतियार दर्ता वा नामसारी गर्दा निवेदन परेपछि प्रमुख जिल्ला अधिकारीले प्रहरीमार्फत सम्बन्धित व्यक्तिको पृष्ठभूमि जाँच गरी शंकास्पद नदेखिए जिल्ला सुरक्षा समितिमार्फत निर्णय गराएर हतियार राख्ने अनुमतिपत्र दिन सक्ने कानुनी प्रावधान छ।
प्रमुख जिल्ला अधिकारी अध्यक्ष हुने जिल्ला सुरक्षा समितिमा महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रमुख, सशस्त्रको उपत्यका हेर्ने अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि र नेपाली सेनाको सिंहदरबार गणका गणपति सदस्य हुन्छन्। थापाले अनुमतिपत्र पाउँदा काठमाडौंमा रत्नराज पाण्डे प्रमुख जिल्ला अधिकारी थिए।
व्यक्तिगत सुरक्षा वा अरू गम्भीर कारण पुष्टि भएमात्र स्थानीय प्रशासनले सर्वसाधारणलाई हतियार राख्ने अनुमति दिनसक्छ। माओवादी द्वन्द्वमा संलग्न सामान्य आर्थिक हैसियत र आपराधिक पृष्ठभूमिका थापाले कुन आधारमा हतियार राख्ने अनुमति पाए, त्यो भने शंकास्पद छ।
थापाले २०६९ वैशाख २६ गते लाइसेन्स पाएको त्यसमा रहेको विवरणले देखाउँछ। सिरियल नम्बर १३११३ को लाइसेन्समा उक्त राइफल थापालाई सदीक्षा गौचनले नामसारी गरेर दिएको उल्लेख छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिएको अनुमतिपत्रमा लेखा अधिकृत यज्ञराज उप्रेतीको हस्ताक्षर छ। स्रोतका अनुसार गौचनले थापालाई नामसारी गर्नुभन्दा १३ दिनअघिमात्र सो हतियारको अनुमतिपत्र पाएकी थिइन्।
गौचनको लाइसेन्स लिएर थापालाई बिक्री गर्दासम्ममा अरु सातवटा हतियार दर्ता भएका थिए। थापाको लाइसेन्स नम्बर १३१०६ हो। स्रोतका अनुसार थापाले पाएकै मोडलका अरु दुई हतियार सो अवधिमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको छ।
'हतियार राख्ने अनुमति पाएको १३ दिनमै गौचनले हतियार थापाको नाममा नामसारी गरिदिएकीले थापालाई हतियार दिने पूर्वयोजना अनुसार नै दर्ता भएको प्रहरी निष्कर्ष छ। आपराधिक पृष्ठभूमिका व्यक्तिले पुष्टि हुने कारणबिना नै कसरी हतियार पाए? गौचन र थापाको सम्बन्ध र गौचनको पृष्ठभूमिबारे समेत अनुसन्धान गरिने एसएसपी चन्दले बताए।
थापाको अनुमतिपत्रसमेत त्रुटिपूर्ण देखिएको छ। हतियार लाइसेन्स पाउने व्यक्तिको विवरणपछिको पानामा हतियारसँगै दर्ता भएको गोली संख्या खुलाउनुपर्नेमा थापाको हकमा त्यसो गरिएको छैन।
प्रहरीले उनको साथबाट ५३ वटा गोली बरामद गरेको छ। गोलीको संख्या उल्लेख नगरे पनि अधिकतम दुई सय राउन्ड गोली राख्न पाउने उल्लेख गरी सच्याएर पछि एक सय राउन्ड गोलीसम्म राख्न पाउने उल्लेख छ।
हातहतियार तथा खरखजाना ऐन-२०१२, दफा ४ को उपदफा २ अनुसार विदेशबाट नेपालभित्र र नेपालबाट बाहिरमात्र होइन, एक जिल्लाबाट अर्को जिल्लासमेत हतियार लैजान नपाउने प्रष्ट प्रावधान छ। तर, थापाको अनुमतिपत्रमा सो हतियार नेपालभर लैजान पाउने उल्लेख छ।
प्रहरीले बुधबार सार्वजनिक गरेको विवरणमा थापा शंकास्पद गतिविधिमा संलग्न रहेको दाबी छ। सोही ऐनअनुसार कसैले लाइसेन्सको सर्त उल्लंघन गरे तीन महिना कैद र सात सय रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
प्रहरीले लाइसेन्सवाला हतियारसँगै फेला पारेको सिक्सर अवैध भएकाले थापा र गुरुङलाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै अनुमति दिएको छ।
एकीकृत माओवादीले भने थापा पहिले पार्टीमा रहे पनि अहिले सम्पर्कबाहिर रहेको बताएको छ। 'पहिले पार्टीमा थिए। अहिले काठमाडौंतिर रहेछन्। पार्टीको कुनै समितिमा नभएको सूचना पायौं,' एमाओवादीका गोरखा इन्चार्ज कृष्ण धितालले नागरिकसँग भने।

No comments :

Get Widget