उपभोक्ता अझै घट्ला र किनुँला भन्ने मानसिकतामा छन् भने व्यवसायी बढ्ने आशमा कारोबार नगरी बस्न खोजिरहेका छन् । 'कारोबार गर्दा घाटा खाने अवस्था छ,' नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले भने, 'यसैले अधिकांश सुन पसलमा कारोबार छैन ।' मंगलबार करिब २५ प्रतिशत सुन पसल बन्द थिए । बजारमा मंगलबार सुन तोलामा ३ हजार रुपैयाँले घटेर ४९ हजार ५ सय रुपैयाँमा पुगेको छ । यसअघि सोमबार ३ हजार ३ सय रुपैयाँले घटेर ५२ हजार ५ सय रुपैयाँ कायम भएको थियो । अन्तर्राष्ट्रिय बजार अनुमान गर्न नसक्ने गरी अस्थिर देखिएकाले स्थानीय बजारमा अन्योल बढेको सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले बताए । सोमबार राति अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस (१ औंस बराबर २ तोला ६७ लाल) १ हजार ३ सय २० अमेरिकी डलरमा झरेको थियो । तर मंगलबार साँझ १ हजार ३ सय ६५ डलरमा उक्लेको छ । महासंघका अध्यक्ष शाक्यका अनुसार सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस औंस १ हजार ४ सय ७० डलरमा कारोबार भएको थियो । एक औंसमा करिब २८ दशमलव ३५ ग्राम हुन्छ भने १ तोलामा ११ दशमलव ६६ ग्राम हुन्छ । 'भाउ अझै घट्छ कि भनेर उपभोक्ता कुरिरहेका छन्,' नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले भने, 'यसैले सुन किन्ने ग्राहक कम देखिए ।' न्युरोडस्थित २४ क्यारेट गहना पसलकी सञ्चालक गीताञ्जली श्रेष्ठले सुनको मूल्य थप घट्ने भनेर उपभोक्ता सुन किन्न नआएको बताइन् । 'लगनको बेला पनि सुन किन्ने ग्राहक छैनन्,' उनले भनिन् । उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले बिहेको सिजनमा अधिकांश पसल बन्द गरी व्यवसायीले उपभोक्तामाथि ठगी गरेको आरोप लगाए । 'भाउ बढेको बेला बढाएर बिक्री हुन्छ,' उनले भने, 'घटेको बेला पसल बन्द गर्नु बेइमानी हो ।' सरकार र राष्ट्र बैंकले अनुगमन गरी उपभोक्ता ठग्नेलाई कारबाही गर्नुपर्ने उनले माग गरे । वित्तीय संकट टार्न साइप्रसले आफ्नो सञ्चित सुन बिक्री गर्ने निर्णय लिएपछि भाउ प्रभावित भएको मानिएको छ । युरोपेली संघ र अन्तर्राष्ट्रिय मुद्रा कोषले साइप्रसलाई ४० करोड युरो बराबरको सुन बिक्री गर्न भनेका छन् । यस्तै अमेरिकी कम्पनी गोल्डम्यान स्याक्सले सुनको भाउ घट्ने प्रक्षेपण गरी सुन बिक्री तीव्र बनाएकाले पनि भाउ घटेको अनुमान छ । अर्थविद् चिरञ्जीवी नेपालका अनुसार साइप्रसले सञ्चित सुन बेच्ने पक्कापक्की भएकाले भाउ घटेको हो । इटाली र स्पेनले पनि सुन बेच्ने भएकाले भएकाले अन्तर्राष्ट्रिय बजारमा भाउ घटेको बताए । भाउ थप घट्ने उनले अनुमान गरे ।
निवर्तमान अध्यक्ष शाक्यले साइप्रसले बिक्री गर्न थालेको १० टन सुनकै भरमा यति ठूलो उथलपुथल आउन नसक्ने जिकिर गरे । 'यसमा धेरै कारण छन्,' उनले भने, 'कमोडिटी बजारका ठूला खेलाडीको चलखेलले यस्तो उथलपुथल आए जस्तो लाग्छ ।'
सुनको भाउ घट्न थालेपछि अधिकांश बैंकले सुन बेच्न छाडेका छन् । सोमबार र मंगलबार कृषि विकास बैंकले मात्र सुन बिक्री गरेको महासंघ अध्यक्ष्ा शाक्यले बताए । सुनको भाउमा थप गिरावट आए बजार डामाडोल हुने उनले बताए । 'त्यसो भए गहना ल्याएर नयाँ बनाउने काम मात्रै हुन्छ,' उनले भने, 'सुन बजार पाइने छैन ।' सूनको मूल्य घट्ने क्रम दुई सातादेखि सुरु भएको हो । चाँदीको भाउ पनि तोलामा ३७ रुपैयाँ घटेको छ । प्रतितोला ८ सय ९८ रुपैयाँ कायम भयो । भारतीय बजारमा सुनको मूल्यमा हुने घटबढले नेपाली बजारमा प्रत्यक्ष प्रभाव पार्छ । निरन्तर बढेको सुनको भाउ २०६९ माघ महिनामा अहिलेसम्मकै उच्च बिन्दुमा -तोलाको ६१ हजार ८ सय ५० रुपैयाँ) पुगेको थियो ।
No comments :
Post a Comment