८ बैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो पार्टी मुलुकको संस्थापन पक्ष भएको बताउँदै अब देशको जिम्मा एमाओवादीले लिने बताउनुभएको छ । एकसाता लामो चीन भ्रमणबाट फर्केको भोलिपल्टै आइतबार बिहान थानकोटस्थित एक भारतीय योगीका नाममा नेपालीले चलाएको आश्रम पुग्नुभएका प्रचण्डले दुईसय वर्षसम्म राजतन्त्रले मुलुक चलाएको र अब एमाओवादीले चलाउने बताउनुभयो ।

‘अब माओवादीले देश जिम्मा लिएर चलाउँछ, संस्थापन पक्ष हामी हौ, हामी अब चीन र भारतलाई मिलाएर अघि बढ्छौं ।’ बैसाख ६ गतेदेखि थानकोटस्थित अरबिन्द आश्रममा आयोजित अखिल क्रान्तिकारीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो-’हिजो राजतन्त्र थियो, अब हामी देश चलाउँछौं ।’
चीनभन्दा नेपाललाई धनी बनाउने प्रस्ताब
आफूले चिनियाँ राष्ट्रपतिलाई चीनभन्दा नेपाल धनी नहुने हो भने दक्षिण एशियामा चीनको सुरक्षा र संरक्षण हुन नसक्ने बताएको प्रचण्डले विद्यार्थी नेताहरुलाई जानकारी दिनुभयो । नेपाललाई धनी बनाउन चीनले लुम्बिनीको विकासका साथै जलविद्युत आयोजनाहरुमा लगानी गर्नुपर्ने आफूले प्रस्ताव राखेको उहाँले कार्यक्रममा बताउनुभयो । साथै चीनले आफू संघीयताविरोधी नभएको जनाऊ दिएको पनि प्रचण्डले बताउनुभयो । एकसाता लामो चीन भ्रमणको अन्तिम दिन चिनियाँ राष्ट्रपति सि चिनफिङले विदेशमन्त्रीमार्फत आफूलाई सन्देशसमेत पठाएको प्रचण्डले खुलासा गर्नुभयो । उक्त सन्देशमा सिले प्रचण्डसँग भेटेर ‘इन्लाइडेट’ भएको र नेपाललाई उच्च प्राथमिकतामा राख्ने बताएको प्रचण्डको भनाइ छ ।
स्ववियुमा दुईतिहाइ जित्न निर्देशन
स्ववियुको निर्वाचन सम्बन्धी रणनीति बनाउने आयोजना गरिएको ३ दिन लामो बैठकको समापनका दिन सम्बोधन गर्दै प्रचण्डले आम चुनावका लागि स्ववियु चुनावको महत्व हुने बताउँदै देशैभरिबाट दुई तिहाइ क्याम्पसमा विजय हासिल गर्नेगरी तयारी गर्न निर्देशन दिनुभयो । वैद्यपक्ष र एमालेबाट एमाओवादीमा प्रवेश गर्ने क्रम जारी रहेको भन्दै प्रचण्डले आगामी संविधानसभाका पार्टीको जीन सुनिश्चित भएको दाबी गर्नुभयो । साथै पार्टीको केन्द्रीय कमिटी बैठकले निर्माण र उत्पादनको कार्यक्रम ल्याउने पनि उहाँले विद्यार्थीको बैठकमा जानकारी दिनुभयो ।
क्रान्तिकारीको बैठक जोगीको आश्रममा
बैशाख ६ गते डा. बाबुराम भट्टराईले उद्घाटन गर्नुभएको अखिल क्रान्तिकारीको केन्द्रीय समिति बैठकमा २ सय ६९ विद्यार्थी नेता सहभागी छन् । उनीहरुलाई खाने र बस्ने प्रवन्ध आश्रममा रहेका करिब डेढसय मानिसहरुले सःशुल्क गरेका छन् ।आश्रमको खान्की अग्र्यानिक भएकाले क्रान्तिकारी नेताहरुले पनि अग्र्यानिक खाना खाएर बैठक गरेका छन् । भारतीय योगी अरविन्दका नाममा खोलिएको ‘अरविन्द योग केन्द्र’ नाम यस आश्रममा रामचन्द्र दासको नेतृत्वमा प्राकृतिक चिकित्सा, योगाभ्यासका साथै गाई पालनसमेत गरिएको छ । भारतीय योगीका नाममा खोलिएको आश्रमका सञ्चालक दासचाँहि भारतीय नभएर पहाडे समुदायका नेपाली ब्राह्मण हुन् ।
No comments :
Post a Comment