यातायात कार्यालयले बनायो नयाँ नियम….. ७ बैशाख, काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन अब पहिला जस्तै सजिलो छैन । यातायात व्यवस्था विभागले आइतबारदेखि लागु हुने गरी लाइसेन्स परीक्षाको नयाँ व्यवस्था लागु गरेको छ । ड्राइभर बन्न चाहनेले अब ट्रायल परीक्षा दिँदा गाडी टी आकारमा नभई अंग्रेजी अक्षरको ८ आकारमा फनफनी घुमाएर देखाउनुपर्नेछ ।समयअनुसार लाइसेन्स वितरणको व्यवस्थामा सुधार हुन नसक्दा सवारी दुर्घटनाको संख्या बढेकाले लाइसेन्स परीक्षामा नयाँ व्यवस्था लागु गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।थोरै सवारी सडकमा दौडिँदा बनाइएको व्यवस्थाबाट लाइसेन्स लिने चालकहरुका कारण अहिलेको व्यस्त सडकमा सवारी चलाउँदा धेरै दुर्घटना बढेको विभागको बुझाइ छ । लाइसेन्स वितरणको व्यवस्था कमजोर हुँदा हैसियत नभएकाहरुले पनि लाइसेन्स लिएको गुनासो आइरहेका बेला विभागले नियममा कडाइ गर्न लागेको हो । विभागले देशभर लागु हुने गरी सवारी चालक अनुमति पत्रमा नयाँ नियमको व्यवस्था गर्न लागेको हो । विभागले नयाँ व्यवस्था लागु गर्न देशभरका यातायात व्यवस्था कार्यालयलाई आग्रह गरेको छ । नयाँ व्यवस्था लागु भएपछि सर्वसाधारणलाई यसअघि लाइसेन्स लिँदाजस्तो सजिलो भने हुने छैन । राजधानीबाट लाइसेन्स निकाल्न नसकेर बाहिर जानेहरुलाई समेत नयाँ व्यवस्थाले अप्ठ्यारो बनाउने भएको छ ।
गाडी फन्फनी घुमाउनुपर्ने
विभागले मोटरसाइकल तथा स्कुटर र चार पांग्रे सवारीको लाइसेन्स लिनका लागि ट्रायल परीक्षा पूरै नयाँ तरिकाबाट दिनुपर्ने व्यवस्था गरेको छ । मोटरसाइकल लागि पाँचवटा डण्डी पार गर्नुपर्ने र चार पांग्रे सवारीका लागि टी आकारमा गाडी चलाउनुपर्ने व्यवस्थालाई परिवर्तन गरेर विभागले अंग्रेजी अक्षरको घुमाउरो ८ अंकमा ट्रायल परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ । साथै विभागले सवारी चलाउँदा अपनाइने विभिन्न नियमहरुको समेत परीक्षण गर्ने भएको छ ।
बाग्मती यातायात व्यवस्था कार्यालयमा नयाँ व्यवस्था लागु गर्न आवश्यक ढाँचा तयार भएपछि आइतबारदेखि लागु हुन लागेको कार्यालयले जनाएको छ । अन्य अञ्चल कार्यालयहरुमा नयाँ व्यवस्था अनुसारको संरचनाका लागि ढाँचा बनाउन कार्यालयले ठाउँ अनुसार करिव १२ लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने भएकोले डेढ महिनासम्म लाग्न सक्ने कार्यालयको भनाइ छ । कार्यलयका अनुसार बागमती अञ्चलका लागि मोटरसाइकल/स्कुटरको नयाँबानेश्वरस्थित ट्रलीबस कार्यालयमा र चारपांग्रे गाडीका लागि साल्ट ट्रेडिङ अगाडि ट्रायल परीक्षा लिइनेछ ।
मोटरसाइकल र स्कुटरका लागि नयाँ व्यवस्था
यसअघि ५ वटा डण्डी कटाएपछि सिधै लाइसेन्स प्राप्त गर्दै आएका सर्वसाधारणले अब भने विभिन्न परिक्षणहरु पास गर्नुपर्ने भएको छ । विभागका अनुसार मोटरसाइकल तथा स्कुटर चलाउनुपूर्वको सावधानी र सुरक्षा परीक्षण, चित्र आठमा परीक्षण, साँघुरो काठमा परीक्षण, ट्राफिक संकेतको परीक्षण, उवड खावडको परीक्षण, सवारीको गति, गियर परिवर्तन र समयको परीक्षण गरिनेछ ।
मोटरसाइकलमा अनुत्तिर्ण हुने अवस्था
- ट्रायल परीक्षाको क्रममा हेल्मेट नलगाई, ऐना नमिलाई वा साइड लाइटको परीषण नगरी स्टार्ट गरेर अगाडि बढाएमा,
- चित्र आठमा तोकिएको लाइनभन्दा बाहिर सवारी साधन पुर्याएमा,
- साँघुरो फलेकबाट सवारीसाधन वाहिर पुर्याएमा,
- ‘यू’ टर्नमा साइड लाइटको प्रयोग नगरेमा,
- ट्राफिक संकेतको पालना नगरेमा,
- उवड खावड परीक्षणमा रोकेर गोडा टेकेमा,
- र्याम्पको चढाइमा रोकेर अगाडि बढाउँदा सवारी साधन ६ इन्चभन्दा बढी पछाडि फर्किएमा,
- दुईपटक वा बढी स्टार्ट रोकिएमा र
- ट्रायलका सबै तरिका पुरा गर्न पाँच मिनेट भन्दा बढी समय लगाएमा
चार पांग्रे साधनका लागि
यसभन्दा अगाडिसम्म टी आकारमा गाडी चलाएर पार गरेपछि सिधै लाइसेन्स प्राप्त गर्दै आएका सर्वसाधरणले अब विभिन्न चरणहरु पार गरेपछि मात्र लाइसेन्स प्राप्त गर्ने भएका छन् । कार्यलका अनुसार चार पांग्रे सवारीका प्रशिक्षार्थीहरुले सवारी चलाउनु पूर्वको सावधानी र सुरक्षा परीक्षण, चित्र आठमा परीक्षण, स्पिड व्रेकर परीक्षण, ट्राफिक संकेतको परिक्षण, र्याम्प परीक्षण, ग्यारेज पार्किङ परीक्षण, सवारी गति, गियर परिवर्तन र सयमको परीक्षण गरिनेछ ।
चार पाङ्रेमा अनुत्तिर्ण हुने अवस्था
- सिट वेल्ट प्रयोग नगरी, पछाडि तथा दायाँ बायाँ हेर्ने सिसाको परीक्षण नगरी वा साइड लाइटको परीक्षण नगरी सवारी साधन स्टार्ट गरेर अगाडि बढाएमा,
- चित्र आठमा तोकिएको लाइनभन्दा बाहिर सवारी साधन लगेमा,
- स्पिड व्रेकरमा सवारी साधन रोकिएमा वा स्टार्ट वन्द भएमा,
- ‘यू’ टर्नमा साइड लाइटको प्रयोग नगरेमा,
- ट्राफिक संकेतको पालना नगरेमा,
- र्याम्पको चढाइमा रोकेर अगाडि बढाउँदा सवारी साधन ६ इन्चभन्दा बढी पछाडि फर्किएमा,
- ग्यारेज पार्किङ गर्दा तोकिएको लाइन भन्दा बाहिर सवारी गएमा,
- दुई वा बढी पटक सवारीको स्टार्ट रोकिएमा र
- ट्रायल सबै तरिका पूरा गर्न १० मिनेटभन्दा बढी समय लगाएमा
No comments :
Post a Comment