Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : आज र भोलि शैक्षिक संस्था बन्द

Sunday, 3 March 2013

आज र भोलि शैक्षिक संस्था बन्द


आज र भोलि शैक्षिक संस्था बन्द
=================

किन हुँदैछ शैक्षिक संस्था बन्दको दोहोरी ?
रुबी रौनियार, काठमाडौं, फागुन २० - शैक्षिक सत्र ०६९/७० को अन्तिम परीक्षा पूर्वसन्ध्यामा निजी विद्यालय सञ्चालकहरूको संगठन अपिन र एकीकृत माओवादी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनबीच शैक्षिक संस्था बन्दको दोहोरी चलेको छ। 

संगठन खोल्न नदिएको विरोधमा बिहीबार राजधानीको गोल्डेनडेट एकेडेमीको स्कुल बस क्रान्तिकारी कार्यकर्ताले आगजनी गरेपछि त्यसविरुद्ध निजी शैक्षिक संस्थाहरुको छाता संगठन एसोसिएसन अफ प्राइभेट इन्स्टिच्युसन अफ नेपाल (अपिन) ले आइतबार देशभरका निजी शैक्षिक संस्था बन्द आह्वानसहित आन्दोलन घोषणा गरेको हो।
अपिनको बन्दविरुद्ध क्रान्तिकारी विद्यार्थी संगठनले लगत्तै सोमबार देशभरका निजी शैक्षिक संस्था बन्द गर्ने घोषणा गरिसकेको छ। 
करिब २० हजार निजी शैक्षिक संस्थामा अध्ययनरत ७५ लाख विद्यार्थीको अध्यापन ठप्प पार्ने गरी बन्दको दोहोरी खेल्न अग्रसर यी दुवै पक्ष गैरशैक्षिक भने होइनन्। विद्यार्थीकै निम्ति सञ्चालित र संगठित संस्था नै विद्यार्थी हितप्रतिकूल उत्रन लागेको प्रति अभिभावक भने ताजुब मानिरहेका छन्।
यो बन्दले हिसानद्वारा सञ्चालित कक्षा १२ को आइतबार हुने प्रिबोर्ड परीक्षा स्थगन गरिएको छ। चैत १ देखि सञ्चालन हुने एसएलसी परीक्षाका तयारी कक्षा पनि बन्दको सिकार भएका छन्। 
यसैगरी, यो बन्दबाट आगामी साताबाट हुने सबै कक्षाका अन्तिम परीक्षाको तयारीसमेत नराम्ररी प्रभावित हुनेछ। किनकि, अहिले अधिकांश विद्यालयमा अन्तिम परीक्षा तयारीस्वरुप पाठ पुनावलोकन कक्षाहरू चलिरहेका छन्। 
विद्यालयमा क्रान्तिकारी विद्यार्थी संगठनको इकाइ गठन गर्न नदिएको निहुँमा उक्त संगठनले बिहीबार स्वयम्भू सानोभर्यााङनजिकै विद्यार्थी बोकेको उक्त बसमा आगजनी गरेको थियो।
बिहान साढे पाँच बजे बसमा रहेका कक्षा ११ का छजना विद्यार्थी घटना सम्झेर अझै कलेज नआएको उक्त कलेजले जनाएको छ। 
एकातिर विद्यालयलाई शान्ति क्षेत्र घोष्णा गर्न सबै दलका शीर्षनेताले हस्ताक्षर गरी मन्त्रिपरिषदबाटै विद्यालय र बालबालिकालाई शान्ति क्षेत्र घोषणा गर्ने, अर्कोतिर सत्तासीन दलकै भ्रातृ संगठनले बालबालिका बोकेको बसमा आगजनी गर्ने कार्यले शैक्षिक क्षेत्रमा अराजकताले सीमा पार गरेको शिक्षाविद केदारभक्त माथेमाको निष्कर्ष छ।
हरेक निजी स्कुल-कलेजका आ-आफ्ना मूल्य-मान्यता हुने भएकाले कसैले पनि जबर्जस्ती गर्न नहुने माथेमाको भनाइ छ। सकेसम्म स्कुल-कलेजलाई राजनीतिभन्दा पर राख्नुपर्ने मान्यता बोकेका माथेमाले सरकारले पहल गरी शैक्षिक संस्थाहरुलाई सुरक्षित र निर्वाध रुपले सञ्चालन गर्न पाउने प्रत्याभूति दिनु पर्ने धारणा राखे।
'बन्द समाधानको उपाय होइन,' माथेमाले भने, ' माथेमाले भने, 'विद्यालय सञ्चालन गर्न दिएर वार्ताबाटै समाधान खोज्नुपर्छ,' उनले नागरिकसँग भने। शैक्षिक क्षेत्र आक्रमण गर्नेमाथि कारबाही गर्नुपर्ने उनले आंैल्याए।
'देशमा कानुन र अदालत छ, कसैलाई चित्त नबुझे त्यही बाटो रोज्नुपर्छ,' माथेमाले भने, 'विध्वंस गर्नेलाई कानुनको दायरामा ल्याई कडा कारबाही गर्नुपर्छ ।'
कानुनविद कोषराज काफ्लेका अनुसार शिक्षा नियमावली, २०५९ को नियम ८५ अनुसार शनिबार, वर्षे र हिउँदे बिदा तथा स्थानीय चाडबाडमा विद्यालय व्यवस्थापनको सहमतिमा मात्र विद्यालय बन्द रहने व्यवस्था छ। अन्य दिन विद्यालय बन्द गरे सम्बन्धित प्रधानाध्यापकलाई विभागीय कारबाही हुनेसम्म व्यवस्था कानुनमा छ। सरकारले शिक्षा क्षेत्रलाई आवश्यक सेवाअन्तर्गत राखिसकेकाले कसैले पनि बिनाकाम विद्यालय बन्द गर्ने कोसिस गरे कसुर हेरेर कारबाही गर्न सक्ने कानुनी व्यवस्थाअनुसार बन्दकर्तालाई सरकारले कारबाही गर्न सक्ने उनले औंल्याए।
गत वर्ष माघ २२, २३, २४ र २५ मा नेपाल शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्चले आह्वान गरेको विद्यालय बन्दको विरोधमा नेपाल विद्यालय कर्मचारी युनियनले पुनरावेदन अदालतमा दायर गरेको मुद्दामा अदालतले गत वर्ष माघ १९ मै 'कुनै पनि निहुँमा विद्यालय बन्द नगराउन शिक्षा मन्त्रालय, गृह मन्त्रालय, मन्त्रिपरिषद र शिक्षक युनियनको नाममा अन्तरिम आदेश जारी गरेको थियो।
गृह र शिक्षाले पहल गरेर कुनै हालतमा विद्यालय बन्द गर्न दिनुनहुने उनको भनाइ छ। 'अभिभावक संघहरुले पनि कानुनी प्रक्रियामा गएर विद्यालय बन्द गर्ने र गराउनेलाई कारबाहीको दायराभित्र ल्याउन सघाउनुपर्छ,' काफ्लेले भने, 'वक्तव्य निकाल्न मात्र अघि सरेर पुग्दैन।'
ललितपुरस्थित जेम्स स्कुलका कक्षा ८ मा पढ्ने रिसब जोशी परीक्षाको मुखैमा एक्कासि विद्यालय बन्दले पढाइमा क्षति पुर्या एको गुनासो गर्छन्। 'स्कुलमा सरहरुले सबै विषय रिभिजन गराउँदा हामीलाई परीक्षामा बुझेर लेख्न सघाउँछ। घरमा मात्र पढ्दा राम्ररी बुझिन्न,' रिसबले प्रश्न गरे, 'सरकारले नै सबैको प्रतिबद्धतासहित विद्यालय र बालबालिकालाई शान्ति क्षेत्र घोषणा गरे पनि किन जहिले पनि स-साना निहुँमा विद्यालय बन्द गरिन्छ, किन बालबालिकामाथि आक्रमण हुन्छ?'
विद्यार्थी बोकेको बसमा आगजनी गर्नेलाई समेत सरकारले कारबाही नगर्दा बन्दकर्ता उत्साही हुने गरेको उनी दाबी गर्छन्।
रिसबका बुबा विकेन्द्र जोशी बिहीबार गोल्डेनगेट कलेजको बसमा गरिएको आगजनीबाट त्रासित छन्। 'देशमा सरकारले कानुनी व्यवस्था दह्रो पार्न नसकेका कारण नै हाम्रा बालबालिका विद्यालयमा असुरक्षित बनेका छन्,' जोशीले भने, 'विद्यार्थी बोकेको बसमा आगजनी गरी खुलमखुला जिम्मेवारी लिएकालाई सरकारले कारबाही गर्न नसक्नुले दोषीलाई गैरकानुनी काम गर्न प्रोत्साहन गरेको बुझिन्छ।'
शिक्षामन्त्री दीनानाथ शर्माले जुनसुकै बहानामा तोडफेाड र आगजनी गर्ने कार्य गैरकानुनी भएकाले दोषीलाई कारबाहीको दायरामा ल्याइछाड्ने प्रतिक्रिया दिए। सरकारले विद्यालय र बालबालिकालाई शान्ति क्षेत्र घोषणा गरिसकेकाले विद्यालय र शैक्षिक क्षेत्र खलबलाउने जोकोहीलाई कडा कारबाही गरिने उनले बताए।
मन्त्री शर्माले आइतबार र सोमबारको बन्द फिर्ता लिनसमेत दुवै पक्षसँग आग्रह गरेका छन्। 'गोल्डेनगेटको बसमाथि आगजनीबाट भएको क्षतिपूर्ति दिलाउन म प्रयास गर्नेछु,' मन्त्री शर्माले भने, 'विद्यार्थी बोकेको बसमा आगजनी गर्ने कार्य गैरकानुनी हो, यसमा संलग्न जोकोहीलाई कारबाही हुन्छ।'
उनले दुवै पक्षलाई शिक्षा क्षेत्रमा राजनीतीकरण नगर्नसमेत अनुरोध गरे।
सरकारले बनाएको नीतिअनुसार कक्षा १२ सम्म कुनै पनि किसीममको युनियन विद्यालय कलेजभित्र खोल्न नमिल्ने हिसानका अध्यक्ष उमेश श्रेष्ठको भनाइ छ। स्नातकभन्दा माथि पनि विद्यार्थी काउन्सिल खोल्न सक्ने, तर कुनै राजनीतिक दल निकट युनियन खोल्न नमिल्ने भएकाले निजी शैक्षिक संस्थामा कुनै पनि युनियन खोल्न नदिने स्पष्ट पारे। 'हाम्रो स्कुल (एलए) मा पनि विद्यार्थी काउन्सिल छ, तर युनियन छैन,' श्रेष्ठले सुनाए, 'विगत छ महिनादेखि विभिन्न दलका भ्रातृ संगठन चन्दा माग्ने, युनियन खोल्ने निहुँ खोजी निजी शैक्षिक संस्था सञ्चालन मुश्किल भएको छ।' त्यही भएर हामीले बाध्य भएर बन्दको बाटो रोज्यौै।'
गोल्डेनगेटका सिइओ एवं हिसानका उपाध्यक्ष रमेश सिलवालले आगजनी भएको बसका विद्यार्थी मानसिक तनावमा रहेको जानकारी दिए। 'एकीकृत माओवादीका विद्यार्थी संगठनले अधिवेशनका लागि ठूलो चन्दा मागेका थिए, नदिएपछि धम्की दिए,' सिलवालले भने, 'पछि हाम्रा केही विद्यार्थीलाई उक्साएर अनेरास्ववियु क्रान्तिकारी कमिटी गोल्डेन गेट इकाइ खोले, विरोध गरेकाले केन्द्रीय नेताहरुले स्कुल बस नै आगजनी गरे।' 
बन्द आह्वानकर्ता अपिन हिसान, प्याब्सन, एन-प्याब्सन, एसोसिएसन अफ इन्जिनियरिङ कलेज, पूर्वाञ्चल युनिभर्सिटी कलेज अफ नेपाल, पोखरा विश्वविद्यालय कलेज फोरम, ओेपन, टेक्निकल इन्स्टिच्युट एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज र फोरम फर हेल्थ टेक्निकल साइन्स गरी १० शैक्षिक संस्थाको छाता संगठन हो।
अपिनले आइतबार देशभरिका निजी शैक्षिक संस्था बन्द गर्ने, २५ गतेसम्म प्रम, दलका शीर्ष नेतासँग, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, उच्च माध्यमिक शिक्षा परिषद, सिटिइभिटी, विश्वविद्यालय र मानवअधिकार आयोगमा विरोधपत्र दिने सिलवालले जनाए।
यति गर्दा पनि दोषीलाई कारबाही नगरे कडा आन्दोलनमा उत्रने उनले चेतावनी दिए।
उता, क्रान्तिकारी विद्यार्थी संगठनले अपिनले गराएको विद्यालय बन्दको प्रतिरोधस्वरूप आफूहरुले सोमबार विद्यालय बन्द घोषणा गरेको जनाएको छ। 
'निजी शैक्षिक संस्थाहरुमा बढ्दै गएको शिक्षक र विद्यार्थीको शोषण, भ्रष्टाचारलगायतको भण्डाफोर गर्न विद्यार्थी संगठन खोल्न आवश्यक छ,' अध्यक्ष हिमाल शर्माले नागरिकसँग भने, 'कलेजले संगठन खोलेका हाम्रा साथीलाई कुटपिट गरेकाले आक्रोशित साथीहरूले स्कुल बस आगजनी गरेका हुन्।' 
निजी शिक्षालयमा भ्रष्टाचारको भण्डाफोर गर्न र शिक्षक र विद्यार्थीलाई शोषणबाट मुक्त पार्न कलेज स्तरमा युनियन गठन गरिरहेको उनले बताए।

No comments :

Get Widget