हेटौंडा-काठमाडौं सुरुङमार्गको दुई हप्ताभित्र उद्घाटन हुने
३ फागुन, हेटौंडा । लामो समयदेखि चर्चामा रहेको हेटौंडा-कुलेखानी-काठमाडौं सुरुङमार्गको निर्माणपछि दैनिक ६ करोड रुपैयाँको डिजल बचत हुने अनुमान गरिएको छ ।
अबको दुई साताभित्र सुरुङमार्ग निर्माण कार्यको उद्घाटन गरिने सुरुङमार्ग निर्माणको जिम्मा लिएको नेपाल पूर्वाधार विकास कम्पनीका सञ्चालकहरुले बताएका छन् । औद्योगिक विकास र चुनौती विषयक छलफल कार्यक्रममा कम्पनीका सञ्चालक सिद्धिलाल श्रेष्ठले गत माघ २६ गते नै उद्घाटन गर्ने कार्यक्रम भौतिक योजना तथा निर्माण मन्त्रालय र कम्पनीबीचको छलफल लम्बिएकाले संभव नभएको बताउँदै अब दुई साताभित्र नै छलफल प्रक्रिया पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।
सरकारसँग भएको सम्झौताअनुसार बुझाइएको डिपिआर अध्ययनको लागि सरकारले ४ जना सचिवको समिति नै बनाएको र उक्त समितिले डिपिआर अध्ययन कार्य पूरा गरी सुझावसहित माग गरेको आवश्यक कागजपत्रसमेत कम्पनीले बुझाइसकेको सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो ।
उद्घाटन भएको मितिले चार वर्षभित्र निमार्ण कार्य पूरा गर्ने कम्पनीको दाबी छ । सञ्चालक श्रेष्ठले भन्नुभयो-”७० प्रतिशत संस्थापकहरुको र ३० प्रतिशत सर्वसाधारणको लगानीबाट बनाउन लागिएको सुरुङमार्ग विकासको एउटा उदाहरण नै बन्नेछ ।”
१० करोड ८० लाखबाट काम सुरु गरिएको र हाल एक हजार सर्वसाधारणले शेयरको पेश्की रकम बुझाएको कम्पनीले बताएको छ । कम्पनीले छिट्टै सर्वसाधारणका लागि साधारणसभा गरेर शेयर खुला गर्ने भएको छ । निर्माण व्यवसायी महासङ्घका अध्यक्ष लामिछानेले सुरुङमार्ग निर्माणका लागि नेपालमै दक्ष जनशक्ति रहेको बताउनुभयो । यो सुरुङमार्ग बनेपछि हेटौँडा-काठमाडौँको दूरी एक घण्टा मात्र हुने बताइन्छ । रासस
No comments :
Post a Comment