देशभर साझा पर्ब का रुपमा छठ पर्ब मनाउदै
छठले अब कुनै स्थान र समुदाय विशेषको मात्र नभई देशभरकै साझा पर्वका रुपमा व्यापकता पाउँदै गएको छ । यो अब सांस्कृतिक सद्भावको नमुनाका रूपमा अघि बढिरहेको सरोकारवाला बताउँछन् । सूर्योपासनाको लोक पर्व छठमा आज (सोमबार) राजधानी लगायतका मुलुकका विभिन्न भागमा पोखरी, तलाउ नदी किनारामा भेला भएका श्रद्घालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने छन् । मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो महोत्सव सकिनेछ ।
हाल मधेशी मात्र नभई सबै समुदाय विशेषले मनाउने यो पर्वले राजधानीमा पनि व्यापकता पाएको छठ समारोह समिति रानी पोखरीका अध्यक्ष रामचन्द्र शाह बताउँछन् । 'हाम्रो आकलन अनुसार उपत्यकामा करिब १५ लाख मधेसी जनसमुदाय छन्', शाह भन्छन्- 'वर्षेनी छठ मनाउने स्थलमा समेत वृद्घ हुँदै गएको छ भने, मधेसी मात्र नभई पहाडी लगायतका अन्य समुदायकाले समेत उच्च श्रद्घा, भक्तिसँगै पारम्परिक रूपमा यो पर्व मनाउँदै आएका छन् ।'
चार दिनसम्म मनाइने यो पर्वको दोस्रो दिन आइतबार 'खरना' मनाइएको छ । यसमा व्रतालुहरू दिनभरि उपवास गरेर साँझ सूर्यलाई खीर, पुरी लगायतका भोग लगाएपछि आफूले पनि खाना खाए । आइतबार 'खरना' पुजापछि ३६ घन्टाको निर्जला ब्रत समेत सुरु हुन्छ । 'नहाय-खाय' सँगै शनिबारदेखि छठ पुजा सुरु भएको हो ।
राजधानीमा मुख्य रूपले टंकेश्वर विष्णुमती, थापाथली, गौरीघाट, रानी पोखरी, भुवनेश्वरी मन्दिर बल्खु, लोकन्थली मनोहरा पुल नजिक, गोकर्ण सुन्दरीजल, कमलपोखरी, थानकोट, भक्तपुरको कमलविनायक स्थित कमल पोखरी लगायतका ठाउँमा श्रद्घालुले सामूहिक रुपमा छठ मनाउने गरेका छन् ।
गत वर्षदेखि काठमाडौंको कमल पोखरीमा सुरु भएको छठ पूजामा यस पटक ब्रतालु र श्रद्घालुको संख्यामा वृद्घ हुने कांग्रेश केन्द्रीय सदस्य गगन थापा बताउँछन् । 'यहाँ मनाइने छठमा तपाईं सांस्कृतिक सदभावको उत्कृष्ट उदाहरण देख्नु हुन्छ', थापा भन्छन्- 'छठ अब एउटा समुदाय मात्र हैन सबैको पर्व भयो, अन्य समुदायले समेत श्रद्घापूर्वक सम्मान गरेका छन् ।' कमल पोखरीमा मनाइने छठमा आयोजक समिति, व्रतालु, श्रद्घालु लगायतका मा पहाड र मधेश दुवै समुदायको करिब बराबरीको सहभागिता रहेको थापाले बताए ।
रानी पोखरीमा भने सोमबार एक बजेदेखि व्रतालुहरू प्रसाद लिएर आउन थाल्ने अध्यक्ष शाहले बताए । उनका अनुसार पुजा भने साँझ चारसाढे चार बजेदेखि सुरु हुन्छ । रानी पोखरीमा पर्व अवलोकनकर्तालाई साँझ चार बजेपछि मात्र प्रवेश दिइने साहले बताए । गत वर्ष करिब ९० हजार अवलोकणकर्ताहरू आएको दाबी गर्दै शाहले यसपालि भने संख्यामा वृद्घि हुने जनाए ।
भुवनेश्वरी मन्दिर बल्खुमा भने छठको पक्की घाट समेत बनेको जनाउँदै स्थानीय गोपाल झा भन्छन्- 'हामीले छठ घाट र व्रतालुहरुका लागि सामुदायिक भवन निर्माण गरेका छौं ।' छठ पुजन समितिका अध्यक्ष रामेश्वर प्रसाद कलवारका अनुसार भुवनेश्वरीमा छठ कै लागि पक्की घाट र प्रतीक्षालय बनाइएकाले उपत्यकामा यो स्थानले बेग्लै महत्व राख्छ
साभार कान्तिपुर दैनिक
श्रीराम श्रेष्ठ

No comments :
Post a Comment