Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : एसियामा मडारिन खोज्दैछ युद्धको कालो बादल

Saturday, 6 April 2013

एसियामा मडारिन खोज्दैछ युद्धको कालो बादल


२४ चैत, सिङ्गापुर । उत्तर कोरियाले पुरानो युद्धविरामको औचित्य समाप्त भएको भन्दै दक्षिण कोरियासँग युद्धको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको जानकारी दिएपछि सम्भावित युद्धको भयले विश्वलाई त्रसित बनाएको छ ।
आणविक अस्त्रसम्पन्न उत्तर कोरियाको यस्तो धम्कीले दक्षिण कोरिया मात्र नभएर अमेरिका अझ बढी सशङ्कित भएको छ । दक्षिण कोरिया र उत्तर कोरियाले आफूविरुद्ध अनर्गल र उत्तेजक प्रचार गर्दै आएकाले बाध्य भएर युद्धको अवस्थामा जानुपरेको र युद्धबाटै त्यसको समाधान निस्कने उत्तर कोरियाको पछिल्लो भनाइप्रति तत्काल सम्बन्धित पक्ष राष्ट्रहरू शान्तिपूर्ण विकल्पतर्फ नलाग्ने हो भने गम्भीर परिणाम नआउला भन्न सकिने अवस्था छैन ।
संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि-मुनले पनि उत्तर कोरियाको कारण विश्वमा पुनः युद्धको खतरा बढ्दैगएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार दक्षिण कोरिया र अमेरिकाविरुद्ध उत्तर कोरियाले दिएको युद्धको धम्कीका कारण सम्भावित युद्ध रोक्न अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको तत्काल आवश्यकता रहेकोमा महासचिव मुनले जोड दिनुभएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले हालै आफ्ना उच्च सैनिक अधिकारीहरूसँग आकस्मिक बैठकपछि अमेरिकाविरुद्ध युद्ध नजिक आइसकेकाले तयार रहन निर्देशन दिएको त्यहाँको कोरियन समाचार समितिले जनाएको छ । यस विषयलाई लिएर यता अमेरिकी रक्षामन्त्री चक हृयागलले संवाददाताहरूसँग कुराकानीमा केही समयदेखि उत्तर कोरियाको व्यवहारले यस क्षेत्रको सुरक्षामा खतरा पुर्‍याएको बताएको एपीले लेखेको छ ।
एउटै कोरियाली प्रायद्धीपका दुई मुलुकको सम्बन्ध शत्रुवत रहँदा सिङ्गो विश्वका लागि नै खतराको घण्टी बजेको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ता किम मिन सोकले हालै दिएको वक्तव्यमा उत्तर कोरियाले दक्षिण कोरियामाथि आक्रमण गरेमा उत्तर कोरियाली शासकको अस्तित्व समाप्त हुने चेतावी दिएका छन् ।
यसरी आरोप प्रत्यारोप हुँदै युद्धको अवस्था आयो भने त्यसले विश्वलाई पुनः धुर्वीकरण नगर्ला भन्न सकिन्न । र त्यतिबेलाको युद्धमा रसायनिक हतियार र लामो तथा मध्यम दूरीका अस्त्रको प्रयोगले के कति क्षति पुर्‍याउने हो अनुमान लगाउन गाह्रो पर्दछ । किनकी शीतयुद्धको समाप्ति भए पनि सैन्य हिसाबले पनि चीन नयाँ शक्तिको रूपमा अगाडि आएको छ ।
अहिले पनि उत्तर कोरियालाई चीनले खुलेर समर्थन गरेको अवस्थामा समस्या जटिल बनेर जाने विश्लेषकहरू बताउँछन् । भलै अहिलेसम्म यस विषयमा चीनले युद्धलाई भन्दा व्यापारिक आधारमा अन्य मुलुकहरूसँगको सम्बन्धलाई महत्व दिएको छ । कोरियाली दुवै देश केही वर्षदेखि आ-आफ्नै ढङ्गबाट युद्धको तयारीमा जुट्दै आएका छन् । तुलनात्मकरूपमा हतियार र सैन्यका दृष्टिले दक्षिण कोरियाभन्दा उत्तर कोरिया बढी शक्तिशाली देखिन्छ तर दक्षिण कोरियालाई अमेरिकाको प्रत्यक्ष सहयोग र समर्थन रहँदै आएको छ ।
उत्तर कोरियाले पछिल्लोपटक गत फेब्रुअरी १२ मा आणविक परीक्षण गरेपछि अमेरिका र दक्षिण कोरियाले मात्र नभई संयुक्त राष्ट सङ्घले समेत चिन्ता र आपत्ति जनाएका थिए । यसको लगत्तै दक्षिण कोरियाले पनि क्रुज मिसाइल परीक्षण गर्‍यो ।हाल उत्तर कोरियासँग करिब १२ लाख सैनिक, १२ हजारभन्दा बढी तोप र मध्यम दूरीका लागि मिसाइल पनि छ । उसले यी हतियारहरू सीमा नजिकै राखेको छ । उत्तर कोरियासँग केही पनडुब्बी, ८०० भन्दा बढी लडाकु जेट विमान, चार हजारभन्दा बढी टयाङक मात्र होइन, करिब आठवटा आणविक हतियार र पाँच हजार मेटि्रक टन जैविक तथा रासायनिक हतियार छन् ।
गत डिसेम्बरमा उत्तर कोरियाले लामो दूरीको “जेन्हा-३” नामक क्षेप्यास्त्र पनि परीक्षण गरेको थियो । यता दक्षिण कोरिया पनि हतियार र सैन्य तन्दुरुस्तीमा लागेको छ । उसले हालै आफ्ना केही सैन्य ट्याङ्कहरूलाई सीमा क्षेत्रमा तैनाथ गराएको छ । दक्षिण कोरियासँग पनि लडाकु विमानहरू ४६० वटा, सैन्य टयाङ्कहरू दुई हजार ४०० वटा रहेका छन् ।
दक्षिण कोरियामा साढे २८ हजार अमेरिकी सैनिक तैनाथ रहँदै आएका छन् । यसरी दुई कोरिया हतियार र सैन्य शक्तिबाट बलिया रहेकाले युद्धको खतरालाई बढाएको छ । दुई कोरियाबीचको शक्ति सङ्घर्षले मात्र होइन, एसियाका अन्य राष्ट्रहरूमा पनि बढ्दो हतियार मोहले कुनैपनि बेला कतैबाट सल्किने युद्धको आगोलाई बढाउन मद्दत गर्नेछ । विश्वमा कुल सैनिक खर्चमा एसियाले करिब २० प्रतिशत स्थान ओगटेको छ । विश्वमै दोस्रो आर्थिक शक्तिको रूपमा उदयमान बनेको चीन हतियार र सैन्यबलले पनि अगाडि बढेको छ । यसले छिमेकी मुलुकहरूको सुरक्षा खतरा बढेको यसै साता जापानमा सार्वजनिक गरिएको एक अध्ययनले पनि उल्लेख गरेको छ । पूर्वी एसियाली रणनीतिक पुनरावलोकन नामक सो अध्ययनमा चीनले सैनिक बलमा गरेको वृद्धिले सुरक्षाप्रति आश्वस्त रहन नसकिने जनाइएको छ ।
अध्ययनको खण्डन गर्दै चिनीयाँ विदेश मन्त्रालयका प्रवक्ता होङ लीले बेइजिङमा सम्वाददाताहरूसँग भनेको भनाइलाई एएफपीले उद्धृत गर्दै लेखेको छ, ”हामीले हाम्रो राष्ट्रिय सुरक्षाको लागि जोड दिएका छौँ, यो आवश्यक पनि छ तर यसले अन्य देशलाई सुरक्षाको कुनै खतरा बढाउने छैन ।” विश्वमा प्रमुख हतियार निर्यातक राष्ट्रको सूचीमा चीन निकै अगाडि आएको छ । बेलायतलाई उछिन्दै चीन हतियार निर्यातमा पाँचौ ठूलो राष्ट्र बनेको छ । हतियार निर्यातबाट चीनले विश्व बजारमा झण्डै ५ प्रतिशत स्थान ओगटेको छ ।
सन् १९५० पछि २०१२ सम्म बेलायत प्रथम पाँच राष्ट्रको सूचीमा रहँदै आएको थियो । चीनको हतियार निर्यात सन् २००८ देखि २०१२ सम्म १६२ प्रतिशतले वृद्धि भएको छ । जबकी त्यसअघिका ५ वर्षमा ५५ प्रतिशतले मात्रै वृद्धि भएको रोयटर्सले आफ्नो समाचारमा उल्लेख गरेको छ । चीन एसियामा सैनिकमा खर्च गर्ने दोस्रो राष्ट्र बनेको छ ।
हतियारको खपत पनि अधिकांश एसियाली मुलुकहरूमै भएको पाइन्छ । चीनबाट हतियार किन्ने राष्ट्रहरूमा पाकिस्तान अग्रस्थान -५५ प्रतिशत) मा रहेको छ । म्यानमार, बंगलादेश र भेनेजुएला पनि चीनका हतियार खरिद गर्ने ग्राहक राष्ट्रहरू हुन् । चीनले आफूले हतियार जथाभावी बिक्री नगरेको दाबी गर्दै अन्तराष्ट्रिय कानुनलाई पालना गरी जिम्मेवारपूर्ण ढंगबाट मात्र बिक्री वितरण गर्दै आएको चिनीया समाचार समिति सिन्हृवाले जनाएको छ ।
हालै विदेश मन्त्रालयका प्रवक्ता होङ लीले भनेका छन्, हतियार बिक्री गर्दा तीनवटा सिद्धान्तहरू – सम्बन्धित राष्ट्रको आत्मसुरक्षाको आवश्यकता रहेको प्रमाणित भएमा, क्षेत्रीय र विश्व शान्ति सुरक्षा र स्थायित्वमा खतरा नपुग्ने अवस्थामा र अर्को राष्ट्रको आन्तरिक मामलामा हस्तक्षेप नहुने अवस्थामा मात्र बिक्री गरिनेछ ।
हतियार आयात राष्टहरूको सूचीमा पनि एसिया र ओसेनियाली राष्ट्रहरू नै रहेको सो प्रतिवेदनले जनाएको छ । यस क्षेत्रमा कुल हतियारको ४७ प्रतिशत खपत हुने गर्दछ । बढी हतियार आयात गर्ने राष्ट्रहरूमा भारत -१२ प्रतिशत), चीन-७ प्रतिशत), पाकिस्तान-५ प्रतिशत), दक्षिण कोरिया -५ प्रतिशत), सिंगापुर -४ प्रतिशत) र बाँकी अन्य एसियाली राष्ट्रहरू रहेका छन् । चीनबाहेक अन्य एसियाली मुलुकहरूमा आफ्नै हतियार कारखाना छैन । भारतले रसियाबाट मात्र हतियार आयात गर्दछ । चीनले भारतलाई हेरेर आफ्ना हतियार पाकिस्तानमा बिक्री गर्दै आएको छ ।
पूर्वी एसियाली रणनीतिक पुनरावलोकनका एसिया विज्ञ मानिनु हुने साइमन बाजमेन एसियाका अधिकांश मुलुकहरूबीच सीमा विवाद रहेकाले युद्धको प्रशस्त खतरा रहेको देख्नुहुन्छ । दुई कोरियाबीचको द्वन्द्व, भारत र पाकिस्तानबीच कश्मीरको विवाद, साउथ चाइन सी यहाँका प्रमुख विवाद रहेको र सम्बन्धित राष्ट्रहरूमा रहेको अन्धराष्ट्रवादले कुनै पनि दिन डरलाग्दो युद्धलाई निम्त्याउनसक्ने उहाँको तर्क रहेको छ । रासस

No comments :

Get Widget