Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : समाचार

Monday, 1 April 2013

समाचार



१९ चैत काठमाडौं । समानुपातिक चुनावमार्फत संविधानसभामा प्रतिनिधित्वका लागि न्यूनतम १.५ प्रतिशत मत ल्याउनैपर्ने निर्वाचन आयोगको प्रस्ताव कार्यान्वयन भएको खण्डमा विगतमा संविधानसभामा प्रतिनिधित्व गर्ने २५ मध्ये १६ दलले संविधानसभामा सहभागी हुनवाट बन्चित हुने  देखिन्छ ।
रोचक त के छ भने थ्रेसहोल्ड प्रणाली अन्तरगत डेढ प्रतिशत मत नल्याउनेलाई समानुपातिकतर्फ प्रतिनिधित्व नगराउने हो भने नेमकिपा, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनशक्ति पार्टी, राप्रपा नेपालसमेत संविधानसभामा नआउने अवस्था छ । त्यस्तै संविधानसभापछि चोइटिएको नेकपा माले, नेकपा एकीकृत, सद्भावना (आ) र नेकपा संयुक्त पनि समानुपातिकबाट बाहिरिने छन् । नयाँ प्रणाली अनुसार चुनावमा जाँदा चुरे भावर पार्टी, दलित जनजाति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता दल, नेपाल पार्टी, नेकपा माक्र्सवादी र प्रेमबहादुर सिंहको समाजवादी प्रजातान्त्रिक जनता पार्टीले त झन् संविधानसभामा आफ्नो प्रतिनिधि पठाउने कल्पनासम्म नगरे हुन्छ ।
उल्लेखित दलहरुले विगतको संविधानसभामा १.५ प्रतिशत भन्दा कम मत ल्याएर पनि सहभागिता जनाउन पाएका थिए । यीमध्ये नेमकिपा र राष्ट्रिय जनमोर्चाले प्रत्यक्षतर्फ पनि केही सीट जितेका थिए भने अन्य साना दलले प्रत्यक्षतर्फ एकसीट पनि नजिती संविधानसभामा सहभागिता जनाउने मौका पाएका थिए ।
कसको मत कति प्रतिशत ?
विगत संविधानसभा चुनावमा कमल थापाको राप्रपा नेपालले ०.७४ प्रतिशत मात्रै मत पाएको थियो । यो मत प्रतिशतमा चमत्कारिक सुधार नगरे ऊ पनि संविधानसभाबाट बाहिरिने छ । यसपालि थापाको मत प्रतिशत बढ्ने धेरैले अनुमान गरेका छन् । त्यस्तै सूर्यबहादुर थापाको राष्ट्रिय जनशक्ति पार्टीले गत चुनावमा ०.७६ प्रतिशतमात्रै मत पाएको थियो । पशुपतिसमशेरको राप्रपाले भने ३.०१ मत ल्याएको थियो । यसपालिको चुनावमा सूर्यबहादुर थापाले राप्रपासँग एकता नगरे उनको डेढ प्रतिशत मत आउने स्थिति छैन ।
त्यस्तै राष्ट्रिय जनमोर्चाले विगत संविधानसभामा ०.९१ प्रतिशत मात्र मत ल्याएको थियो भने सीपी मैनाली नेतृत्वको नेकपा मालेले १.६३ मत पाएको थियो । तर, मैनालीको पार्टी फुटेका कारण मत प्रतिशत १.५ प्रतिशत नपुग्ने खतरा छ । संघीयता विरोधी केसीको पनि मत केही थपिन सक्ने अनुमान गरिएको छ । सानो वामपन्थी दल नेकपा संयुक्तले विगत संविधानसभामा ०.३८ र नेकपा माक्र्सवादीले ०.१ प्रतिशतमात्रै मत पाएका थिए । परि थापाको नेकपा एकीकृतले ०.५ प्रतिशतमात्रै मत पाएको थियो । नयाँ थ्रेस होल्ड प्रणाली लागू भएमा राप्रपाबाहेक अन्य दलहरुले अहिलेकै अवस्थामा ‘रिङ आउड’ हुने प्रायः निश्चित देखिन्छ ।
जातीय र क्षेत्रीय पार्टीको झन बिजोग
नयाँ ‘थ्रेस होल्ड’ प्रणाली लागू गरिए संविधानसभामा एक या दुई सीटको प्रतिनिधित्व गरेका करिब एक दर्जन बढी जातीय एवं क्षेत्रीय पार्टीहरु सहजै रिङ आउट हुनेछन् । विगतमा १ प्रतिशतको त कुरै छाडौं, ०.५ प्रतिशत पनि मत नल्याएका दलहरु संविधानसभामा ११ वटा थिए ।
संविधानसभामा १० भन्दा कम दल आउने
विगतमा संविधानसभाको चुनाव सकिँदा २५ दलको प्रतिनिधित्व रहेकोमा विघटनका बेलासम्म ३२ बन्दा बढी पुगिसकेका थिए । निर्वाचन आयोगले माग गरेजस्तै नयाँ नियम लागु भएमा विगतका मत प्रतिशतलाई आधारमा मान्दा संविधानसभामा १० भन्दा कम दलको मात्रै सहभागिता हुने देखिन्छ । विगतमा डेढ प्रतिशत मत कटाउने दलहरुमा एमाओवादी, कांग्रेस, एमाले, मधेसी फोरम, तमलोपा, सद्भावना पार्टी, राप्रपा, जनमोर्चा नेपाल (पछि एमाओवादीमा मिलेको) र नेकपा मालेसमेत ८ दलमात्र थिए ।
विगतमा १.६९ प्रतिशत मत पाएको राजेन्द्र महतोको सद्भावना पार्टी पनि चोइटिएकाले भावी चुनावमा उसले पनि समानुपातिक सीट गुमाउने खतरा छ । एमाओवादीबाट फुटेको वैद्यपक्षीय माओवादीले डेढ प्रतिशत कटाउने अनुमान लगाउन सकिन्छ भने विगतमा ६.१५ प्रतिशत मत ल्याएको उपेन्द्र यादवको मधेसी जनआधिकार फोरम र शरतसिंह भण्डारीवीच तालमेल भए उनीहरुको पनि समानुपातिक सीट सुरक्षित हुने सम्भावना छ ।
विघटित संविधानसभामा प्रतिनिधित्व गरेका २५ दलले प्राप्त गरेको मत प्रतिशत सूचि 
dal-25

No comments :

Get Widget