आगलागीमा ७८ घर जले, ५६ परिवार बिचल्लीमा
राजविराज, फाल्गुन २६ - सप्तरीको रायपुर गाविसमा शनिबार भएको भिषण आगलागीमा सिङ्गो दलित बस्ती डढेर खरानी भएको छ । रायपुर गाविस ९ स्थित मुसहर बस्तीमा बिहान करिब ११ बजे भिषण आगलागी भएको हो ।
आगलागीमा ५६ परिवारको झण्डै ७८ घर जलेर नष्ट भएको छ । लत्ताकपडा, खाद्यान्न, जिन्सी तथा नगद गरी आगलागीमा झण्डै एक करोड बराबरको धनमाल क्षति भएको अनुमान प्रहरीले गरेको छ ।
स्थानीय धुतरीदेवी सरदारले खाना बनाएर काम गर्न खेततर्फ गएको बखत उनको चुल्हाबाट सल्केको आगो बस्तीभरी फैलिएको थियो । खाना बनाएपनि खान नपाएको समयमा भएको आगलागीका कारण मुसहर बस्तीका बालबालिकासहित सबै अग्नीपीडितलाई भौकै दिन बिताउनु परेको हो ।
आगलागी पीडितलाई बस्न त्रिपाल र खाद्यान्न अभावले उनीहरु भोकै खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् ।
'खान बनाएर छोराछोरीसँगै खाना खाने तरखरमा थिए', स्थानीय अग्नीपीडित तिलियादेवी सदाले भनिन्, 'तर, अचानक सल्केको आगो पुरै बस्तीभरी फैलिएपछि घरबाट केही निकाल्न सकिनँ, दिनभरि भोकै बस्नुपरेको छ, हाम्रो त विजोगै भयो ।'
यस्तै सोही बस्तीका रामप्रसाद सदाका कान्छो छोरा इन्द्रजितको बिहेपछि शनिबार दुलही घर भित्रिने दिन थियो । तर, आगलागीमा उनका सबै घर खरानी भएपछि नवविवाहिता दुलहीलाई राख्न समेत अप्ठेरो भएको छ । 'कान्छो छोरा इन्द्रजितको जन्तीमा थिए', अर्का अग्नीपीडित रामप्रसाद सदाले भने, 'घरबाट खबर गएपछि छोरा र नव बुहारीलाई छाडेर घर आए, यहाँ त सबै बर्बाद भईसक्यो, आज बुहारीलाई घर भित्र्याउनु छ, तर राख्ने घर नै आगोमा खरानी भयो ।'
यस्तै शुक्रबार मात्रै भारतको पञ्जाबाट काम गरी घर फर्किएका स्थानीय मुनेश्वर सदाले घरमा राखेको ३० हजार भारतीय रुपैयाँसमेत आगलागीमा जलेर नष्ट भएको छ । आगलागीमा स्थानीय गंगा सदा, हरि सदा, परमेश्वर सदासहितका घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगोलाई राजविराज नगरपालिका कार्यालयको दुई वटा बारुण यन्त्र र लहान नगरपालिकाको एउटा बारुण यन्त्र, स्थानीय बासी तथा प्रहरीको सहयोगमा झण्डै तीन घण्टापछि दिउँसो २ बजे नियन्त्रणमा लिएको थियो । अग्नीपीडितलाई हालसम्म जिल्ला प्रहरी कार्यालय सप्तरीले मात्रै राहत स्वरुप चुरा र मुरही प्रदान गरेको छ ।
 
 
 
 
No comments :
Post a Comment