५ चैत, काठमाडौं । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । मन्त्रीहरुको सपथ राति साढे ८ बजेका लागि तय गरिएको छ ।
 हालसम्म तीन सदस्यीय रहेको मन्त्रिपरिषदमा ८ जना थपेर ११ सदस्यीय बनाउन लागिएको बताइएको छ । मन्त्रिपरिषदमा तीन दल र मधेसी मोर्चाको कोटामा ८ मन्त्री थपिन लागेको माओवादी उच्च स्रोतले अनलाइनखबरलाई जानकारी दियो । प्रचण्ड नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिमा मन्त्रीहरुको नामावली टुंगो लागिसकेको र मन्त्रीहरुको सूची रेग्मीलाई बुझाइसकिएको बताइएको छ ।
प्रचण्डले बुझाएको भनिएको सूचीमा रहेका रामेश्वर खनाल, रामकुमार श्रेष्ठ, बिजया केसी, श्रीकान्त रेग्मी, डा. सुधा शर्मा, बालानन्द पौडेल, उदय नेपाली र उमाकान्त झामध्ये खनाल, श्रेष्ठ र केसी एमाओवादी कोटाबाट सिफारिस भएको बताइएको छ । त्यस्तै रेग्मी र शर्मा नेपाली कांग्रेसको कोटामा परेको दाबी छ । नेपाली र पौडेल एमालेको कोटामा र झा मधेसी मोर्चाको कोटामा मन्त्री बन्न लागेको बताइएको छ ।दलहरुबाट दिइएको सूचीमा चार दलवीच सहमति भए पनि रेग्मीले आपत्ति जनाएमा अन्तिम समयमा आएर फेरबदल हुनसक्ने बताइएको छ ।
 नेतादेखि राष्ट्रपतिसम्म लबिङमा
सरकारको तालाचाबी रेग्मीलाई बुझाएका राजनीतिक दलहरुले मन्त्री बनाउने क्रममा सकेसम्म आफ्नो निकटस्थ व्यक्ति पार्न सकियोस् भन्ने कसरत गरेका छन् । नेतामात्रै होइन, स्वयं राष्ट्रपति डा. रामवरण यादवले समेत विद्याधर मल्लिकलाई मन्त्री बनाउनुपर्ने आग्रह अघि सार्नुभएको स्रोत बताउँछ ।  उता एमाले नेता केपी ओली पक्षले पूर्व सचिव बृन्दा हाडाको नाम ल्याएका छन् भने केहीले पूर्व पर्यटन सचिव ऋद्धिबाबा प्रधानलाई ल्याउँदा जनजाति र महिला दुबै समेटिने तर्क गरेका छन् । त्यस्तै शंकर कोइराला र गोविन्द कुसुमको पनि केहीले लबिङ गरेका छन् । बालानन्द पौडेल र कुसुमको लबिङ एमालेले गरेको छ ।
एक मन्त्री, दुई मन्त्रालय
चुनावका लागि मात्रै काम गर्न अख्तियारी पाएको मन्त्रिपरिषद्को आकार मन्त्रालयको तुलनामा आधा कम छ, जसका कारण एक मन्त्रीले दुईवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुपर्ने छ । नयाँ मन्त्रीहरुले हाल खिलराजले सम्हालिरहेका २२ वटा मन्त्रालयमध्येबाटै पाउने र बहालबाला मन्त्रीले सम्हालेका मन्त्रायलमा भने हेरफेर नहुने बताइएको छ । अहिले माधवप्रसाद घिमिरेले गृह र परराष्ट्र तथा हरिप्रसाद न्यौपानेले कानुन र श्र्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । मन्त्रालयको भागबण्डाको जिम्मेवारी रेग्मीलाई नै दिइएको छ । पूर्वअर्थसचिव र निर्वमान प्रधानमन्त्री बाबुराम भट्टराईका आर्थिक सल्लाहकार रामेश्वर खनालले अर्थ मन्त्रालय पाउने लगभग पक्कापक्की भएको बताइएको छ ।
 
 
 
 
No comments :
Post a Comment